नेपाल सरकार
गृह मन्त्रालय
क्षेत्रीय प्रशासन कार्यालय ,
पूर्वाञ्चल, धनकुटा


कोशी अंचल यातायात व्यवस्था कार्यालयको निरीक्षण

सर्वसाधारणको चासो रहेको र समय समयमा उजुरी प्राप्त भइरहेको कार्यालयको रुपमा रहेको कोशी अंचल यातायात व्यवस्था कार्यालयको आज पूर्वाञ्चल विकास क्षेत्रका का.मु. क्षेत्रीय प्रशासक महेन्द्र मान गुरुङ्गले निरीक्षण गर्नुभयो । उक्त अवसरमा क्षेत्रीय प्रशासक गुरुङ्गले कार्यालयवाट प्रदान गरिने सेवाहरुका वारेमा विशेष गरी लामो समय देखि ढीला भईरहेको लाइसेन्स वितरणका वारेमा प्रत्यक्ष जानकारी लिनुका साथै कार्यालयमा उपस्थित सेवाग्राहीहरुसंग पनि छलफल गर्नु भएको थियो । कोशी अंचलमा लाइसेन्स वितरण लामो समय देखि अवरुद्ध रहेको, हालसालै मात्र आवेदन लिन शुरु गरिएको तर महिनामा एक पटक मात्र लिने गरिएको कारणवाट सेवाग्राहीहरु मारमा परेको, गाडीको लाइसेन्स अहिले पनि ट्रायल लिने ठाउं नभएको कारणवाट शुरु नै नगरिएको, सर्भरमा आईरहने खरावीका कारण ढीला सेवा प्रदान भईरहेको, कतिपय दुर्गम जिल्ला जस्तै संखुवासभा, भोजपुर, तेहथुमवाट आउने सेवाग्राहीले लामो समय इटहरीमा बस्नु पर्दा खर्चिलो भएको, स्मार्ट लाइसेन्स प्रणालीको आशमा झनै ढीला हुने गरेको, विचौलियाहरुको पनि समस्या रहने गरेको जस्ता समस्याहरुका वारेमा विस्तृत छलफल भयो । 

साथै इरिक्साका वारेमा पनि यसको मापदण्ड, नीति तथा विविध पाटोका वारेमा छलफल भएको थियो । छलफल पश्चात क्षेत्रीय प्रशासक गुरुङ्गले लाइसेन्सको आवेदन लिने कार्यमा यथाशक्य चांडो दैनिक लिने गरी व्यवस्था मिलाउन, साना गाडीको पनि लाइसेन्स पनि खुला गर्न, दुर्गम जिल्लावाट आउने सेवाग्राहीलाई छुट्टै व्यवस्था मिलाई धेरै समय नलगाउन, सर्भरमा आइरहने समस्याको समाधान गरी छिटो छिटो सेवा प्रवाह गर्न, सेवाग्राहीलाई लाईनमा वा 
 
 टोकन प्रणालीमा सेवा प्रवाह गर्न, सेवाग्राही उभिने स्थान अव्यवहारिक रहेको हुंदा तत्काल सुधार गर्न, सेवाग्राहीहरुका लागि पानी र बस्ने व्यवस्था गर्न, विचौलियाहरुलाई कार्यालयमा पस्न नदिन, निरुत्साहित गर्न, इरिक्साका वारेमा मन्त्रालय विभागमा स्पष्ट नीतिका लागि अनुरोध गर्न निर्देशन दिनु भयो । कार्यालयको काम कारवाही वारेमा कार्यालय प्रमुख श्री श्याम कुमार सिंहले जानकारी गराउनका साथै सेवा प्रवाहलाई प्रभावकारी बनाउन आफु लागि रहेको, क्रमश सुधारका उपलव्धी देखिने र प्रगति देखिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । निरीक्षणमा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका नीरिक्षक श्री केदारमान दोङ्ग लगायतको सहभागिता रहेको थियो । उक्त अवसरमा स्थानिय सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
आजै क्षेत्रीय प्रशासक गुरुङ्गले इटहरी स्थित तालतलैयाको पनि अवलोकन गर्नुभयो । हालैमात्र तालतलैयामा आयोजना भएको अन्तरराष्ट्रिय मुर्तिकला कार्यशालाको आयोजना भएको र तालतलैयामा राखिएको कलाकारहरुका कृतिहरु महत्वपुर्ण सम्पत्तिका रुपमा रहने विश्वास गर्न सकिन्छ । तालतलैयाका अध्यक्ष श्री वीर बहादुर लिम्बुले तालतलैयाका वारेमा जानकारी गराउनु भएको थियो । क्षेत्रीय प्रशासक गुरुङ्गले तालतलैयालाई पूर्वाञ्चल विकास क्षेत्रकै मूख्य पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने गरी काम गर्न अनुरोध गर्नुभयो । उक्त अवसरमा एभेन्युज टेलिभिजनका क्षेत्रीय व्युरो प्रमुख श्री सचिन पोखरेलको पनि उपस्थिति रहेको थियो । 
 
२०७२ फागुन १७ सोमवार                                                                                                                        क्षेत्रीय प्रशासन कार्यालय
                                                                                                                                                               पूर्वाञ्चल विकास क्षेत्र
                                                                                                                                                                          धनकुटा ।
 

 

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय